तीन वर्षदेखि लिभिङ टुगेदर, बस्दै अएका जोडी मध्यरातमा कुटपिट गरी प्रेमिकाको हत्या

९ जेठ भक्तपुर - काभ्रेपलाञ्चोक महादेवस्थान गाविस वडा नं ८ मण्डन पौवाका २८ वर्षीय श्याम श्रेष्ठलाई प्रेमिकाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । नुवाकोट जिल्लाको रातोमाटे गाविस–१ महादेवस्थान घर भई हाल सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा बस्ने १८ वर्षीया अञ्जना थापाको हत्या आरोपमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठलाई सार्वजनिक गरेको छ । प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले युवतीको हत्यापछि फरार रहेका श्रेष्ठलाई प्रहरीले दाङको लमहीबाट पक्राउ गरेको जानकारी दिए । प्रहरीका अनुसार श्रेष्ठ र थापा विगत तीन वर्षदेखि सूर्यविनायक चोकस्थित गणेशकुमार दुवालको घरमा लिभिङ टुगेदरका रुपमा बस्दै आएका थिए । गत वैशाख २१ गते राति भएको झगडामा आक्रोशमा आएर श्रेष्ठले थापालाई कुटपिट गरी हत्या गरेको अनुसन्धानमा खुलेको छ । कक्षा १० मा नुवाकोटको विद्यालयमा पढ्दै गरेकी थापा र त्यहीँ सवारी चालकका रुपमा रहेका श्रेष्ठबीच भेटघाट भएपछि सम्बन्ध बढेको थियो । त्यही क्रममा श्रेष्ठले थापालाई विगत तीन वर्षदेखि भक्तपुरमा ल्याएर राखेका थिए । श्रेष्ठको त्यसअघि नै प्यूठान बाङ्गेसाल घर भएकी रेखा सुनारसँग प्रेम विवाह गरी पाँच वर्षको छोरासमेत भएपनि थापालाई भक्तपुरमा ल्याएर विवाह गर्ने प्रलोभन दिई दुवै लिभिङ टुगेदरमा बस्दैआएका थिए । कोटेश्वर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययन गर्ने थापा र भक्तपुरमा मिनिबस चलाउँदै आएका श्रेष्ठबीच विगत तीन महिनादेखि विवाद सुरु भएको पाइएको छ । घटना भएको दिन गत वैशाख २१ राति दुवैबीच भएको विवाद झगडामा परिणत भई श्रेष्ठले कुटपिट गरी थापाको हत्या गरेपछि शवलाई खाटमा सुताएर कम्बल ओढाई फरार भएका थिए । भक्तपुरको इँटाभट्टामा काम गर्ने श्रीमती सुनार र छोरालाई लिएर कपिलवस्तुको कृष्णनगर हुँदै भारतको पञ्जाब लुधियाना पुगेका श्रेष्ठलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गर्न खोजेका थिए । श्रीमतीलाई माइत छोड्न नेपाल आउन लागेको प्रहरीले थाहा पाएपछि श्रेष्ठको पिछा गर्दै आएको प्रहरी टोलीले लमही प्रहरीको समेत सहयोगमा पक्राउ गरी भक्तपुर ल्याएका थिए । प्रहरीले हत्या आरोपी श्रेष्ठविरुद्ध थप अनुसन्धान जारी राख्दै जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एवम् प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।

0 comments

Write Down Your Responses