काठमाडौं: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विनाशकारी भूकम्पबाट भत्किएका संरचना पुनर्निर्माण गर्ने जिम्मेवारी लिन थालेका छन् । दुई सय ३४ वटा विद्यालय पुनर्निर्माणका लागि एक अर्ब ७२ करोड ६७ लाख ३६ हजार ६ सय १० रुपैयाँ र २७ वटा स्वास्थ्य चौकीका भवन पुनर्निर्माणका लागि ३९ करोड ३२ लाख ८१ हजार तीन सय २६ रुपैयाँँ खर्च गर्ने उनीहरूको प्रस्तावलाई पुनर्निर्माण प्राधिकरणले स्वीकृत गरिसकेको छ ।
ती विद्यालय बनाउन ३२ वटा संस्थाले जिम्मा लिएका छन् भने स्वास्थ्य चौकीको भवन निर्माण गर्न आठवटा संस्थाले जिम्मा लिएका छन् । भूकम्पबाट क्षति भएका विद्यालय भवन र स्वास्थ्य चौकी भवन निर्माणका लागि विभिन्न संस्थाबाट पेस भएका परियोजना प्रस्तावलाई गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधिअनुसार स्वीकृत गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।
उनका अनुसार कार्यविधिको दफा ९ को उपदफा ६ अनुसार प्रस्तावित परियोजना छनोटका लागि प्राधिकरणको सिफारिस समितिले स्वीकृत गरेबमोजिम सम्बन्धित विज्ञ सदस्यको समन्वयमा त्रिपक्षीय सम्झौता गर्न स्वीकृत गरेको हो । सम्बन्धित संस्था, क्षेत्रगत मन्त्रालय र प्राधिकरणबीच त्रिपक्षीय सम्झौता हुने कानुनी व्यवस्था छ ।
प्राधिकरणका अनुसार युनाइटेड मिसन टु नेपालले धादिङमा ३३ वटा विद्यालय भवन पुनर्निर्माण गर्न १५ करोड ८८ लाख नौ हजार ६ सय ३३ रुपैयाँ खर्च गर्नेछ भने क्यारितास स्विट्जरल्यान्डले सिन्धुपाल्चोकमा ३४ वटा विद्यालय भवन पुनर्निर्माण गर्न ८३ करोड ४६ लाख ९७ हजार दुई सय ६९ रुपैयाँ खर्च गर्नेछ । त्यसैगरी ग्रामीण सुधार समाजले १३ वटा विद्यालय पुनर्निर्माणका लागि ११ करोड २१ लाख ८७ हजार ९१ रुपैयाँ र गुड ह्यान्ड्स नेपालले सातवटा विद्यालय पुनर्निर्माणका लागि चार करोड ११ लाख ६० हजार रुपैयाँ सिन्धुपाल्चोकमा खर्च गर्ने भएका छन् ।
प्राधिकरणका अनुसार इस्थर बेन्जामिन मेमोरियल फाउन्डेसनले मकवानपुरमा २२ वटा विद्यालय पुनर्निर्माण गर्न एक करोड ५४ लाख १४ हजार एक सय ६ रुपैयाँ, लायन्स क्लब इन्टरनेसनल मल्टीपल डिस्ट्रिक नेपालले गोरखा र दोलखामा आठवटा विद्यालय पुनर्निर्माण गर्न १७ करोड ९६ लाख १२ हजार पाँच सय र इको हिमाल नेपालले सोलुखुम्बुमा ११ वटा विद्यालय पुनर्निर्माण गर्न एक करोड ९५ लाख ७७ हजार ६ सय ३१ रुपैयाँ खर्च गर्ने भएका छन् ।
यसैगरी सहयोगी हातहरूको समूहले ओखलढुंगामा १८ वटा विद्यालय पुनर्निर्माणका लागि तीन करोड ७४ लाख ३२ हजार एक सय ५५ रुपैयाँ, टुकी नेपालले धादिङमा नौवटा विद्यालय पुनर्निर्माण गर्न तीन करोड १५ लाख सात हजार रुपैयाँ र राइट चिल्ड्रेन पोखराले धादिङमा आठवटा विद्यालय पुनर्निर्माण गर्न पाँच करोड ५० लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव प्राधिकरणबाट स्वीकृत गराएका छन् । सुमारियन्स पर्स नेपालले रसुवा, काभ्रे, ललितपुर, गोरखा, नुवाकोट र सिन्धुपाल्चोकमा ११ वटा विद्यालय पुनर्निर्माण गर्ने भएको छ ।
त्यस्तै आईएनएफले गोरखामा तीनवटा विद्यालय भवन अन्य कार्यक्रमसँगै जोडेर निर्माण गर्ने र हेल्प इभीले सिन्धुपाल्चोकमा अन्य कार्यक्रमसँगै १२ वटा विद्यालय पुनर्निर्माण गर्ने प्रवक्ता थपलियाले बताए । वल्र्ड भिजन इन्टरनेसनल नेपालले एक करोड ३० लाख रुपैयाँमा गोरखा र सिन्धुपाल्चोकमा दुईवटा विद्यालय पुनर्निर्माण गर्ने भएको छ । गरुडा नेपालले एक करोड ७१ लाख ८४ हजार एक सय ८९ रुपैयाँ खर्च गरेर काभ्रेमा तीनवटा विद्यालय, रूपान्तर नेपालले ७० लाख रुपैयाँ खर्च गरेर नुवाकोटमा तीनवटा विद्यालय र च्वाइस ह्युमानिटेरियन नेपालले गोरखामा एक करोड १५ लाख रुपैयाँ खर्च गरेर एउटा विद्यालय पुनर्निर्माण गर्ने प्रस्ताव स्वीकृत गराएका छन् ।
यसैगरी जागृति बाल तथा युवा सरोकार नेपालले रसुवामा ४४ लाख ३७ हजार पाँच सय रुपैयाँ खर्च गरेर एउटा, राउन्ड टेबल नेपालले नुवाकोटमा ३८ लाख रुपैयाँ खर्च गरेर नुवाकोटमा एउटा, द कोल्ड फिट फाउन्डेसन नेपालले धादिङमा एक करोड ८० लाख रुपैयाँ खर्च गरेर दुईवटा विद्यालय, सामुदायिक सहयोग संगठन नेपालले एक करोड ८६ लाख ४१ हजार आठ सय ९८ रुपैयाँ खर्च गरेर मकवानपुर, धादिङ र गोरखामा तीनवटा विद्यालय, आरडी बिजनेस हाउस प्रालिले एक करोड १७ लाख ७० हजार तीन सय १० रुपैयाँ खर्च गरेर नुवाकोटमा एउटा विद्यालय पुनर्निर्माण गर्ने प्रस्ताव प्राधिकरणबाट स्वीकृत गराएका छन् ।
माइती नेपालले एक करोड ६४ लाख ४५ हजार ९४ रुपैयाँ खर्च गरेर काभ्रेमा चारवटा विद्यालय, नेपाल जसुइत सामाजिक संस्थाले एक करोड ४९ लाख २४ हजार दुई सय ९८ रुपैयाँ खर्च गरेर नुवाकोट र सिन्धुपाल्चोकमा चारवटा विद्यालय, नमस्ते नेपालले चार करोड ७५ लाख रुपैयाँ खर्च गरेर सिन्धुपाल्चोकमा आठवटा विद्यालय, चुमनवीले गोरखामा ५० लाख रुपैयाँ खर्च गरेर गोरखामा एउटा विद्यालय पुनर्निर्माण गर्ने जिम्मा लिएका छन् ।
त्यस्तै चाइल्ड स्पेस फाउन्डेसनले ३५ लाख रुपैयाँ खर्च गरेर काभ्रे र नुवाकोटमा दुईवटा विद्यालय, थाई फाउन्डेसन सोलिडारिटीले धादिङमा १६ लाख रुपैयाँ खर्च गरेर एउटा विद्यालय, बिल्ड अप नेपालले गोरखामा ४० लाख ५० हजार रुपैयाँ खर्च गरेर एउटा विद्यालय, कोअपरेटिभ युथ अर्गनाइजेसन नेपालले धादिङमा एउटा विद्यालय निर्माण गर्न एक करोड ८२ लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव स्वीकृत गराएका छन् ।
फाउन्डेसन फर इन्टरनेसनल डेभलपमेन्ट रिलिफले धादिङमा पाँचवटा विद्यालय पुनर्निर्माण गर्न दुई करोड १७ लाख ३० हजार रुपैयाँ खर्च गर्ने योजनालाई प्राधिकरणले स्वीकृत गरिदिएको छ । त्यस्तै तेन्डी शेर्पाले दोलखामा ३० लाख रुपैयाँ खर्च गरेर एउटा विद्यालय बनाउने प्रस्ताव स्वीकृत गराएका छन् ।
इन्टरनेसनल मेडिकल क्रप्सले गोरखा, धादिङ, नुवाकोटलगायत जिल्लामा नौवटा स्वास्थ्य चौकी भवन निर्माणका लागि १० करोड रुपैयाँ, संरक्षण तथा विकास संस्थाले ललितपुरमा दुईवटा स्वास्थ्य चौकी भवन निर्माणका लागि ९३ लाख ६१ हजार तीन सय ६ रुपैयाँ, आड्रा नेपालले काभ्रेमा चारवटा स्वास्थ्य चौकी भवन निर्माणका लागि तीन करोड ११ लाख रुपैयाँ, हेल्थ फाउन्डेसन नेपालले ललितपुरमा एउटा स्वास्थ्य चौकी भवन निर्माण गर्न ४० लाख १७ हजार आठ सय ३३ रुपैयाँ खर्च गर्ने योजना प्राधिकरणबाट स्वीकृत गराएका छन् ।
टेरी डेस होम्सले काभ्रेमा सातवटा स्वास्थ्य चौकी निर्माण गर्न २२ करोड १२ लाख ८० हजार तीन सय ४० रुपैयाँ, काम फर सस्टेनेबल डेभलपमेन्ट नेपालले रामेछापमा एउटा स्वास्थ्य चौकी निर्माण गर्न ९० लाख ८१ हजार आठ सय ४७ रुपैयाँ, रेन्बो चिल्डे«न नेपालले धादिङमा एउटा विद्यालय निर्माण गर्न २५ लाख रुपैयाँ, सिप्रडिन सहायता संस्थाले सिन्धुपाल्चोकमा दुईवटा स्वास्थ्य चौकी भवन निर्माण गर्न एक करोड ५९ लाख ४० हजार रुपैयाँ खर्च गर्ने भएका छन् ।
एनजीओले लिनथाले पुनर्निर्माणको जिम्मेवारी

0 comments
Write Down Your Responses