सिंहदरबार घेर्ने मधेसवादी दलका नेता एकाएक सिंहदरबारभित्रै पसेपछि

फाइल तस्वीर काठमाडौं, ७ जेठ । राजधानी केन्द्रीत आन्दोलनको घोषण गर्दै दुईदिन सिंहदरबार घेराउ गरेका मधेसवादी दलका शीर्ष नेताहरु शुक्रबार सिंहदरबारभित्रै पसेका छन् । उनीहरु सिंहदरबार भित्र जान खोज्दा गेटका सुरक्षाकर्मीहरु चकित परेको थिए । एक सुरक्षाकर्मी भन्दै थिए– ‘हिजोसम्म सिंहदरबार घेराउ गर्न तम्सिएका मधेसी नेताहरु आज त धमाधम सिंहदरबारभित्र छिर्दैछन् । आज के अचम्म भयो ?’ खासमा मधेसी नेतालाई सिंहदरबार छिर्ने अवसर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जुराइदिएको थियो । आफै घेराउ गरेर भित्र जान लाज भइरहेका बेला कांग्रेस विशेष छलफल गर्न भन्दै बोलाएपछि मधेसवादी दलका पाँच भन्दा बढी नेताहरु लाइन लागेर सिंहदरबारभित्र छिरेको गेटमा ड्युटीमा रहेका एक प्रहरी जवानले बताए । यसको पुष्टि कांग्रेस नेता विमलेन्द्र निधिले पनि गरेका छन् । उनका अनुसार मधेसवादी दलका नेतालाई कांग्रेसले व्यवस्थापिका संसदको नियमावली मस्यौदामाथि आफूले राखेको संशोधनको पक्षमा समर्थन गर्न आग्रह गर्नका लागि सिंहदरबारस्थित आफ्नो संसदीय कार्यालयमा बोलाएको थियो । छलफलमा सभापति शेरबहादुर देउवाले संसदीय सुनुवाई बनाउन कांग्रेसले गरेको ७५ सदस्यीय विशेष समितिमा समर्थन जनाउन मधेसवादी दलका नेतालाई आग्रह गरेका थिए । मधेसवादी दलका तर्फबाट शीर्ष नेताहरु उपेन्द्र यादव, अशोक राई, लक्ष्मणलाल कर्ण, सर्वेन्दनाथ शुक्ल लगायतका नेताहरुले देउवाको आग्रहलाई सकारात्मक रुपमा लिए । तर, जवाफ भने स्पष्ट दिएनन् । उनीहरुले गठबन्धनमा सल्लाह गरेर जवाफ दिने बताएका थिए । ७५ सदस्यीय समिति बनाउन कांग्रेसले पहल गरिरहेका बेला सत्तारुढ दल कांग्रेस एमाले भने नयाँ संविधानअनुसार समिति १५ सदस्यीय बनाउनुपर्ने अडानमा छन् ।

0 comments

Write Down Your Responses