जिताकोट (लमजुङ): लमजुङको तामाखानीमा बिहीबार भएको बस दुर्घटनामा मध्यनेपाल नगरपालिकाको एउटै गाउँ जिताकोटका ११ जनाको मृत्यु भएपछि सिंगै गाउँ शोकमा डुबेको छ । परिवारका सदस्य गुमाउने मात्र हैन, यो वियोगको पीडामा गाउँभरि रुवाबासी चलिरहेको छ ।
जिताकोटकी ४८ वर्षीय जुनीमाया पीडाले छटपटाइरहेकी छन् । उनका आँखा ओभाएका छैनन् । दुर्घटनाले उनीबाट बुहारी सविना र तीन महिनाकी नातिनी खोसेर लगेको छ । बुहारीको घटनास्थलमै मृत्यु भयो, काखे नातिनी सोनिसाको उपचारको क्रममा निधन भइसकेको छ । पति टेकप्रसाद र छोरा सुरेश खवास गम्भीर घाइते छन् । परिवारका चारजना चढेको गाडी दुर्घटना भएको सुन्नेबित्तिकै उनी मुर्छा परिन् । आफन्त सम्झैदै उनी आँसु झारिरहेकी छन् ।
निस्मा खवासकी सासूको मृत्यु गत असोजमा भएको थियो । पति वैदेशिक रोजगारीमा विदेशमा छन् । निस्माका ससुरा शेरबहादुर खवाससँग बस्दै आएकी थिइन् । सासू गुमाएको वर्ष दिन नपुग्दै बिहीबार उनले सँगै बस्दै आएका ससुराको पनि मृत्यु भयो । ‘खेतमा काम गर्न जान्छु भनेर हिँड्नुभएको थियो', उनले आँसु झार्दै भनिन्, ‘त्यही गाडीमा चढेर आउन लेखेको रहेछ ।' सानो झुपडीमा ससुरा सम्झँदै छिन् उनी ।
थातथलो जिताकोट भए पनि हाल भरतपुर बस्दै आएका रामकृष्ण गुरुङ दम्पतीको परिवार पनि शोकमा छ । गाउँमा वैशाख पूर्णिमा र कुलायन पूजाका लागि आएका उनीहरूको घटनास्थलमै निधन भएपछि उनीहरूको परिवारले अभिभावक गुमाएको हो । गाउँमा कुलायन पूजाको सबै तयारी रोकिएको छ । शनिबार हुने कुलायन पूजाका लागि जिताकोटमा धुमाधाम तयारी थियो ।
लमजुङको मध्यनेपाल नगरपालिका–५ तामाखानीमा बिहीबार भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सहचालक सन्तोष बसौलाले चलाएको गाडी दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएकाहरूको पोखरास्थित मण्ािपाल अस्पतालमा उपचार भइरहेको छ ।
दमौली हुँदै लमजुङको जिताकोट हिँडेको ना ६ ख ४१३६ नम्बरको बस साँझ ५ बजे दुर्घटना भएको थियो । बस घटनास्थलबाट २ सय मिटरभन्दा बढी तल खसेको थियो ।
दुर्घटनामा परी घटनास्थलमै मध्यनेपाल–१ जिताकोटका ४० वर्षीया रमा गुरुङ, ६० वर्षीय रामकृष्ण गुरुङ, ८० वर्षीया चीनमाया गुरुङ, ३५ वर्षीय राजिन गुरुङ, ४५ वर्षीय शेरबहादुर खवास, ३० वर्षीय गणेश गुरुङ, ४५ वर्षीया मीनाकुमारी गुरुङ, १८ वर्षीया सविना खवास र ४५ वर्षका नारायण थापाको मृत्यु भएको हो ।
उपचारको क्रममा तीन महिने दूधे बालिका सोनिसा खवास र सागर थापाको मृत्यु भएको थियो । मृतकको पोस्टमार्टमका लागि दमौली लगिएको स्थानीय चन्द्रमणि पौडेलले बताए ।
बसका चालक सुरज विक प्रहरी हिरासतमा छन् । मध्यनेपालको नगरपालिकामा पर्ने तान्द्राङ भन्ने स्थान कटेपछि आउँछ तामाखानी । बिहीबार दुर्घटनाग्रस्त बनेको यात्रुवाहक बस पनि त्यहीँ सहज स्थानमै दुर्घटनाग्रस्त भयो । तीव्र गतिमा आएको बस सहचालकले कन्ट्रोलमा लिन नसकेपछि दुर्घटना भएको थियो । बारीमा गुल्टँदै भीरसम्म पुगेपछि धेरै यात्रुले ज्यान गुमाएका थिए ।
बसका सहचालक सन्तोष बसौलाले बस चलाएको त्यो पहिलोपटक थिएन । स्थानीय गोविन्द गुरुङले भने, ‘तामाखानी–जिताकोट उसैको भरमा चल्थ्यो ।'
तामाखानी दुर्घटनाः शोकमा डुब्यो जिताकोट

0 comments
Write Down Your Responses