भगवानले नसुनुन्, म जिउँदै जलेको भए..’हेर्नुस भिडियो सहित

काठमाडौंः ‘भगवानले नसुनुन्, म जिउँदै जलेको भए बिहीबार विप्लव माओवादीका कार्यकर्ताले काठमाडौंको कोटेश्वर ओरालोमा जलाएको बा१ज ८२०६ नम्बरको ट्याक्सी चालक सुवास परियार यति भनेपछि अवाक भए । साहुलाई दैनिक ७ सय रुपैयाँ बुझाउने सर्तमा २० दिनअघि सुवासले यो ट्याक्सी भाडामा लिएर काठमाडौंको सडकमा गुडाउन थालेका थिए । अविवाहित सुवासको उमेरका युवा विश्वविद्यालय धाइरहँदा उनी भने परिवार पाल्ने जिम्मेवारी पुरा गर्न ट्याक्सी ड्राईभर बनेका थिए । घरका जेठा छोरा उनी पैसा कमाउने सपना बोकेर २२ वर्षको उमेरमा कतार पुगे । दुई वर्षका लागि त्यहाँको मासिक १ हजार तलबले खानै नपुगेपछि सुवास देशमै केही गर्ने सपना बोकेर १८ महिनामै देश फर्किए । विप्लव माओवादीले जलाएको ट्याक्सीका चालक सुवास परियार आठ महिनासम्म बेरोजगार भएका उनले मामामार्फत यो ट्याक्सी भाडामा लिएर कुदाउन थालेको २० दिन नपुग्दै खरानी बन्यो । बुधबार रातभरी यात्रु बोकेका उनी कलंकीबाट कौशलटारमा यात्रु पु¥याएर बिहीबार बिहान साढे तीन बजेको समयमा कोटेश्वर ओरालोमा पुगेका थिए । रित्तै गुडिरहेका उनी यात्रु पाए कलंकीसम्म लाने योजनामा थिए । त्यतिबेलै दुई व्यक्तिले हात दिएर कलंकीसम्म लैजान भनेपछि बार्गेनिङ गरी दुई सय रुपैयाँ दिन आग्रह गरेर चढाए । अँध्यारोमा यात्रु बनेर चढेकाले बोकेको सामान खुट्याउन नसकेका सुवासले न्युटलमा राखेको ट्याक्सी गुडाउनमात्रै के थालेका थिए । दुईमध्ये एकले शुरु गर शुरु गर..........भन्नेबित्तिकै अर्काले पछाडिको सीटमा पेट्रोल हालिहाले । ‘पेट्रोल खन्याएर आगो लगाएपछि ह्वार ह्वारी बलिगयो, उनीहरुको हातमा रहेको बोत्तल फ्याक्न भ्याएँ’, उनले सुनाए, ‘ट्याक्सी जल्न थालेकाले होस नै गुमाएछु, आगोले खाइरहेको ट्याक्सीमै डेढ मिनेटसम्म बसेछु । आफू पनि जल्न लागेपछि अत्तालिँदै बाहिर निस्केँ । म त बाँचे तर देशकै भूमिमा मेरो सपना ट्याक्सीसँगै खरानी भयो ।’ विदेशमा हन्डर खाएर आएका सुवासलाई विप्लवका कार्यकर्ताले पनि गरी खान दिएनन् । ट्याक्सीसँगै टुसाउन थालेको सुन्दर सपना फस्टाउन नपाउँदै निमोठियो । अब उनलाई बाबुआमा र भाइबहिनीको पेट कसरी भर्ने भन्ने पिरलोले च्यापेको छ । ‘ट्याक्सी खरानी भएपछि घरमा खबर गरेँ, सुन्नेबित्तिकै रुवाबासी चल्यो’, सुवासले भने, ‘मलाई देख्न नपाएर आत्तिनुभयो, मैले जिउँदै छु चिन्ता नगर्नु जसरी भएपनि पाल्छु भनेको छु ।’ आठ कक्षामात्रै पढेका सुवासले परिवार पाल्ने ट्याक्सी जलेपनि हिम्मत हारेका छैनन् । ‘विदेशमा ठेस लाग्यो, यहाँ आएपछि नेपाली दाजुभाइले नै लडाए’, उनले सुनाए, ‘एउटा ट्याक्सी जलेपनि साहुसँग अर्को मिलाइदिन भन्छु, जे जति दुःख गर्नु परोस, यहीँ गर्छु ।’ सामाखुसी बस्दै आएका यी २४ वर्षीय युवालाई एउटै चिन्ताले पिरोलेको छ । आफू तलमाथि भइगए बाबुआमा र भाइबहिनीको बिजोग हुने कुराले उनी चिन्तित छन् । ‘ट्याक्सी जलेपछि मैले होस गुमाएँ, वरीपरी अध्याँरो भयो’, उनले सुनाए, ‘केही सोच्नै सकिन । आफ्नो काल आफैंले देखेपछि आत्तिँदै बाहिर निस्केँ, आज म मरेको भए मेरा बाबुआमा र भाइबहिनीको कति बिजोग हुन्थ्यो होला ?’ आत्तिँदै निस्केका उनकै अगाडि आफ्नो जीवनसँग जोडिएको ट्याक्सी गुड्दै जलिरह्यो, उनी आफ्नो सपना जलिरहेको हेर्दै टोलाइरहे । ट्याक्सी जलेको केही मिनेटमै सशस्त्र र जनपथ प्रहरी त आइपुगे तर त्यतिबेलासम्म धेरै ढिला भइसकेको थियो । उनको ट्याक्सी जलाएको अभियोगमा प्रहरीले विप्लव माओवादीका एक नेतालाई पक्राउ गरेको छ । तर पनि उनीहरुलाई सुवासले गाली गर्न चाहेनन् । ‘पुलिसले के भयो ? कसरी भयो ? भनेर सोध्दैथिए, मैले सबै कुरा भनेको छु’, उनले भने, ‘मेरो ट्याक्सी जलाउनेहरुलाई जे लेख्या छ, त्यही हुन्छ । उनीहरुलाई अरु केही भन्दिनँ ।’ ट्याक्सी जलेपछि उनले तत्कालै साहुलाई पनि खबर गरे । ‘साहु दाइ इमानी हुनुहुन्छ । अर्को ट्याक्सी दिएपछि फेरि चलाउँछु’, सुवासले हिम्मत हारेका छैनन्, ‘हामी गरिबलाई जहाँ गएपनि गरिखान गाह्रो भयो । विदेशबाट फर्केर आएँ, यहाँ पनि बस्न गाह्रो । तर पनि देशमै बसेर केही गर्छु ।’

0 comments

Write Down Your Responses