काबुल घटना : नेपालीले गरेको एउटै गल्तिले लियो १२ नेपालीको ज्यान

दिलबहादुर घर्ती (काबुल, अफगानिस्तान) सोमबार अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम हमलामा थुप्रै नेपाली दाजुभाइले ज्यान गुमाउनुपर्यो। नेपाली परेकाले हामीलाई दुःख लागेको छ। हामी घटना भएको भोलिपल्ट पनि साथीभाइबीच त्यही विषयमा कुरा गरिरहेका छौं। नेपालबाट पनि त्यही विषयमा कुरा गर्न थुप्रै आफन्तहरूले फोन गर्नुभएको छ। आफन्तहरूले सामाजिक सञ्जालमार्फत् पनि त्यही कुरा गरिरहनुभएको छ। नेपालभरि हल्लीखल्ली मच्चिएको हामीले सुनेका छौं। यो स्वाभाविक पनि हो। तर, अफगानिस्तानका लागि भने यो घटना त्यति अनौठो होइन। सामान्य घटना हो। किनकि यस्ता घटना बारम्बार हुने गरेको छ। अहिले हामी पर्यौं अरूबेला अरू पर्दथे ।सोमबारको घटना बिहान ५ः४० बजे भएको थियो । काबुलको पीडी–९ मा भएको सो घटनाका क्रममा गाडी बिस्तारै चलिरहेका बेलामा कोही मानिस भित्र छिर्न चाहेको रहेछ । त्यतिबेला ढोका खोल्न नहुने हाम्रा नेपाली साथीहरूले ढोका खोलिदिएछन् । त्यसपछि उनीहरू स्वाट्टै भित्र छिरेछन् र सो घटना गराएछन् । सो गाडीमा जम्मा १९ जना मानिस चढेकोमा दुई जना भारतको देहरादुनका र अरू सबै नेपाली रहेछन् । मंगलबार एक जना घाइतेसँग भेट भएको थियो । उनी भन्दै थिए– ‘ढोका खोल्न नहुने। गल्ती भयो ।’ हामी घटना भएको भोलिपल्ट मंगलबार त्यसै गरी घटना भएको त्यही ठाउँ हुँदै काम गर्न आएका छौं। म काम गर्ने काबुलस्थित बेलायती दूतावासमा पनि थुप्रै नेपाली छौं। हामी सामान्य ढंगले नै काम गरिरहेका छौं। नजिकै रहेको क्यानडाको दूतावासमा पनि नेपाली सुरक्षा गार्डहरू सदाका झैं ड्युटी गरिरहेका छन्। सोमबारको हमलापछि पनि काबुलको सुरक्षास्थिति उस्तै छ। खासै कडा गरिएको छैन। सोमबारको घटना पूरै तयारीका साथ भएको हामीलाई लागेको छ। नेपाली भनेर नै ताकेर हानिएको अवस्था छ। तर, किन नेपालीलाई हानियो र लक्षित गरियो भन्ने कुरा हामीले पनि बुझेका छैनौं। हामी नेपालीहरूबीच पनि यस बारेमा कुरा भइरहेको छ। सोमबारको घटना बिहान ५ः४० बजे भएको थियो।सबैभन्दा राम्रो त नेपाल सरकारले नेपालमै कामको व्यवस्था गर्ने हो भने हामी नेपालीले विदेशी सडकमा यसरी ज्यान गुमाउनुपर्ने थिएन। तर, रोजगारीको व्यवस्था हुन नसकेकै कारण हामीले विदेशमा यसरी ज्यान गुमाउनुपरेको हो। सोमबारको घटनापछि पनि हामी ड्युटीमै बसिरहेका छौं। अहिले नै छोडेर हिँडिहाल्ने मुडमा हामी कोही पनि छैनौं। किनकि यहाँ आउनका लागि हामीले ठूलो रकम खर्च गरेका छौं। त्यो त उठाउनै पर्यो। के गर्ने? यहाँ दूतावासहरू रहेको स्थान भनेको ‘ग्रिन जोन’ अर्थात् सुरक्षित स्थान हो। तर, बस्ने ठाउँमा जाँदा खेरी हामी बाहिर निस्कनुपर्दछ। सोमबारको घटना पनि यसै गरी भएको हो। घटनाक्रम हेर्दा सबै कुरा थाहा पाएर तालिवानले ‘वाच’ गरिरहेको जस्तो देखिएको छ। हामीहरूबीच सो घटनाका बारेमा बारम्बार चर्चापरिचर्चा भइरहेको छ। जे होला होला हामी यहीं बसेर काम गर्ने मुडमा छौं। मैले यहाँ रहेका धेरै नेपालीसँग आज सम्पर्क गरें। कोही पनि काम छोडेर हिँडिहाल्ने मुडमा छैनन्। म पनि आउँदो डिसेम्बरतिर नेपाल फर्कन्छु। फोन गर्दा नेपालमा सबैजना आत्तिनुभएको पाएँ। तर, जे–जसरी हल्ला भइरहेको छ, त्यस्तो होइन। अहिले हामी परेकाले हाम्रो देशमा हल्ला भएको हो। सोमबारकै दिन पनि अफगानिस्तानमा अर्को यस्तै खाले घटना भएको थियो। त्यसैले यो अफगानिस्तानका लागि सामान्य प्रक्रिया भइरहेको छ। नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई नआत्तिन म अनुरोध गर्दछु। हुन लाग्यो भने स्वदेशमा नै पनि केही हुन सक्छ। त्यसैले आत्तिनेभन्दा पनि धैर्यधारण गर्नु जरुरी रहेको छ। ज्यान गुमाउनुहुने नेपाली युवाहरूका परिवारले पनि चित्त बुझाउनुको विकल्प छैन। जे हुनु त भइनै सक्यो। त्यसैले बाँकी रहेका परिवारको हेरविचार गर्नु र जीवनमा थप प्रगति गर्नुको विकल्प छैन। नेपाल सरकारले चाहिँ आकर्षक रोजगारीको व्यवस्था गरे हुन्थ्यो भन्ने हामीलाई लागिरहेको छ। यस्तो हुने हो भने हामी खतरनाक स्थानमा यसरी काम गर्न आउने थिएनौं। सरकारमा बसेका मान्छेहरूले देश बनाउने भनेर भाषण गरेको सुनिन्छ। तर, काम गर्न सक्ने जनशक्ति जति सबै विदेशमा गएपछि कसरी देश बन्ला? अझ हाँसो लाग्ने कुरा त नेपालमा श्रम तथा रोजगार मन्त्रालय पनि छ क्यार। त्यो मन्त्रालय कसरी के गरेर बसिरहेको छ कुन्नि? कति रोजगारीको सिर्जना गरयो? कतिलाई विदेश जानबाट रोक्यो? तपाईं पत्रकारहरूले सोधिदिए हुने हो? हामीले पठाएको रेमिट्यान्सले नै मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा भरथेग गरिरहेको हामीले सुनेका छौं। त्यही रेमिट्यान्सकै कारण विगतमा माओवादी युद्धले मुलुक थिलथिलो हुँदासमेत देशै टाट पल्टिने अवस्थामा नपुगेको पनि हामीलाई थाहा छ। तर, हाम्रा लागि आवश्यक वातावरण बनाउने र स्वदेशमै रोजगारीको आकर्षक अवस्था सिर्जना गर्ने हो भने न हामी नेपालीका छोराहरू कुनै शहरमा यसरी मर्नुपर्दथ्यो न त हाम्रो देश बनाउन नै समय लाग्दथ्यो। तर हाम्रो कुरा सुन्ने कसले? (काबुलस्थित बेलायती दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्ड (नाम परिवर्तन)सँग नेपाल समाचारपत्रले मंगलबार टेलिफोनमा गरेको कुराकानीमा आधारित। बेलायती दूतावास र सोमबार मारिएका नेपाली काम गर्ने क्यानडाको दूतावाससँगै रहेका छन्।

0 comments

Write Down Your Responses