सत्ता हस्तान्तरण बारे एमाले र माओवादीबीच द्धन्द्ध सुरु

काठमाडौ,१७ जेठ । तत्कालिन एमाओवादीसंग नौ बुँदे सहमति गरेर बल्ल बल्ल सत्ता टिकाउन सफल भएका प्रधानमन्त्री केपी शर्मा ओली पुनः कुर्सी तनावमा परेका छन् । सत्ता हस्तान्तरण बारे एमाले र माओवादी केन्द्रबीच द्धन्द्ध सुरु भएपछि ओली तनावमा परेका हुन् । बजेट प्रस्तुतपछि प्रधानमन्त्री ओलीले राजीनामा दिने र अर्को सत्ता साझेदार दल एमाओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको एमाओवादी नेताहरुको दावी छ । तर नेकपा एमालेले भने सत्ता हस्तान्तरण बारे कुनै सहमति नभएको दावी गरेको छ । यसै विषयमा प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बजेट कार्यान्वयन गर्ने दाबी गर्दै सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा एमाओवादीसँग कुनै पनि प्रकारको गोप्य सम्झौता नभएको स्पष्ट पारेका छन् । संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ सरकार गठनका विषयमा कुनै सहमति नभएको प्रस्टीकरण दिएका हुन् । ओलीले भनेः‘ द्धिविधा नराख्नुस्,कुनै सम्झौता भएको छैन यो बजेटपछि सरकार फेरिन्छ भन्ने हल्ला चलाइएको छ, तपाईंहरू कोही पनि त्यो भ्रममा नपर्नुस् । सरकारको नेतृत्वका विषयमा एमाओवादीसँग कुनै गोप्य सम्झौता भएको छैन ।’ ‘सरकार बजेटपछि त फेरिन्छ, तर कुनचाहिँ बजेटपछि ? ०७३ सालको यो बजेटपछि भने फेरिन्न । सायद ०७४ सालको बजेटपछि फेरिन्छ भनेको हो कि ? द्धिविधा नराख्न र दृढतापूर्वक बजेटका पक्षमा उभिन म आग्रह गर्दछु ।’ ओलीले भने । तर ओलीको यो अभिव्यक्तिप्रति एमाओवादीका नेताहरुले आपत्ति जनाएका छन् ।

0 comments

Write Down Your Responses